संसद विघटनसँगै उल्झिएको राजनीतिक माहौलका कारण सेयर बजारमा ‘पहिरो’ गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से करिब ९७ अंकले घटेको हो ।
कारोबार हुनुअघिको प्रिओपनिङ सेसनमा १४ अंकले बढेको बजार कारोबार सुरु भएपछिको राजनीतिक घटनाक्रमका कारण गिरावट आइको हो । संसद विघटनका लागि सिफारिस भएको घटनापछि घटेको बजार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको घटनापछि अन्तिम समयमा झनै तल पुगेको थियो । यसअनुसार बजार ९६.८८ अंकले घटेर १ हजार ९ सय ३५ अंकमा झरेको छ ।
बजारमा कुल १ सय ७४ कम्पनीको कारोबार हुँदा १ सय ६५ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य बढ्दा एउटा कम्पनीको मूल्य मात्रै स्थिर रहेको देखिएको छ । १२ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।