बाइडेनको सपथमा कविता भनेर चर्चामा आएकी २२ वर्षीया कवि

बुधबार जो बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिएका छन्। संसद भवनमा भएको उनको सपथमा पूर्वराष्ट्रपतिलगायत अन्य विशिष्ट व्यक्तिहरू सहभागी थिए। सोही सपथमा कविता वाचन गरेकी एक जना युवा कविको अहिले सामाजिक सञ्जाल र मिडियाहरूमा चर्चा भइरहेको छ।

अमेरिकी राष्ट्रपतिले सपथ लिँदा कविता वाचन गर्ने परम्परा छ। रोबर्ट फ्रस्ट, माया एन्जेलोजस्ता कविहरूले राष्ट्रपतिको सपथमा कविता वाचन गरेका छन्। 

यसपालि भन २२ वर्षीया आमन्डा गोर्म्यानले सपथ समारोहमा ‘द हिल वी क्लाइम्ब’ शीर्षकको ५ मिनेट लामो कविता वाचन गरेकी थिइन्। अमेरिकी राष्ट्रपतिको सपथमा कविता वाचन गर्ने उनी अहिलेसम्मकै कान्छी कवि हुन्। उनको कविता र वाचन शैलीबारे अहिले चर्चा भइरहेको छ। धेरैले उनको प्रशंसा गरेका छन्।

उनले आफ्नो कवितामा अमेरिकाका अहिलेका चुनौती र भविष्यको आशा समेटेकी छन्।

कविता लेख्दा उनले आफ्ना पूर्ववर्तीहरूभन्दा फरक अनुभव गर्नुपर्‍यो।  सपथ समारोहका लागि उनले कविता लेखिरहेका बेला जनवरी ६ को घटना भयो। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा फैलाएको हिंसामा परी ६ जनाको मृत्यु भयो।

उक्त घटनाको केही समयपछिमात्रै उनले आफ्नो कविता लेखेर सकेकी थिइन्। जुन घटनापछि कविताका केही हरफ फेर्नु परेको उनले बताएकी छन्।   

‘म पछिल्ला हप्ता र वर्षहरूमा हामीले जे भोग्यौं त्यसलाईमात्र आफ्नो कवितामा देखाउन चाहन्न बरू मेरा शब्दहरूबाट देशलाई एकतावद्ध बनाउन र विगतका घाउबाट निको हुने बाटो बनाउन चाहन्छु,’ उनले न्यूयोर्क टाइम्ससँग भनिन्,‘तर त्यसका लागि अमेरिकाले अहिले भोगिरहेका कठोर वास्तविकतालाई मेट्ने वा नजरअन्दाज गर्ने गर्नुहुन्न।’

सन् १९९८मा लस एन्जलसमा जन्मिएकी गोर्म्यानलाई सपथ समारोहमा ल्याउनुका पछाडि राष्ट्रपति बाइडेनकी पत्नी जिल बाइडेनको हात छ। लाइब्रेरी अफ कंग्रेसमा गोर्म्यानले कविता भनिरहेको देखेकी जिलले उनकाबारे सपथ ग्रहण समारोहका अधिकारीसँग कुरा गरेकी थिइन्।  

गोर्म्यानलाई बच्चामा बोल्दा लडबडाउने समस्या थियो। सपथ ग्रहण समारोहका लागि लेखिएको कविता उनले धेरै पटक पढेर कण्ठ पारेकी थिइन्। उनले कविता आफ्नो मुखमै झुन्डिएको होस् तर रोबोटजस्तो पनि नहोस् भनेर अभ्यास गरेको बताएकी थिइन्।  

हार्वर्ड कलेजमा समाजशास्त्र अध्ययन गरेकी गोर्म्यानको सन् २०१५ मा पहिलो  पुस्तक ‘द वन फर हुम फुड इज नट इनफ’ प्रकाशित भएको थियो।

कविता लेखनसँगै उनी विभिन्न खाले दमनको विरोध, महिला अधिकार र अल्पसंख्यकको हित पक्षमा अभियान पनि चलाउँछन्।

गोर्म्यानको तस्बिरहरूको किताब ‘चेन्ज सिङ्ग्स’ आगामी सेप्टेम्बरमा प्रकाशित हुँदैछ।

गोर्म्यानले सन् २०३६ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुने बताएको लस एन्जलस टाइम्सले उल्लेख गरेको छ। त्यतिबेला अमेरिकाको राष्ट्रपति उम्मेदवार बन्न उनको उमेर पुग्नेछ। अमेरिकी राष्ट्रपति हुन ३५ वर्ष पुगेको हुनुपर्छ। १५ वर्षपछि हुने उक्त चुनावमा उम्मेदवारी दाबी गर्ने उनी पहिलो व्यक्ति हुन्।  

Total
1
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts
Read More

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप…
Read More

अर्थमन्त्री पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै व्यवसायीलाई आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै आश्वास्त हुन पर्यटन क्षेत्रका व्यवसायीलाई…